असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

होस्ट खबर २९ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।

नवीकरणका लागि आआफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।

सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताए । उनले भने, ‘नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्