कतारी राजाको भ्रमण पश्चात नेपाल-कतारको सम्बन्ध थप उचाईमाः राजदुत डा. ढकाल (भिडियो)

होस्ट खबर १७ बैशाख २०८१, सोमबार
4 Min Read
Aa

काठमाण्डौं : कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले नेपालको कतारको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्। होस्टखबर डटकमसँगको कुराकानीमा राजदूत डा. ढकालले अरवीयन देशबाट ‘हेड अफ् द स्टेट’को नेपाल भ्रमणले सम्बन्धमा नयाँ आयाम थपेको बताएका हुन्।

कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका बेला भएका सम्झौताले पनि नेपाल कतार सम्बन्धलाई अझ प्रगाढ बनाएको बताएका हुन्। ‘अरवीयन देशहरुबाट राजाको नेपाल भ्रमण पहिलो हो’ उनले भने, ‘यो भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाँई मा त पु¥यायो नै, कुटनीतिक तवरले पनि यो भ्रमण सफल भएको छ’।

नेपाल सरकारले कतारलाई दिएका हात्तीबारे सामाजिक सञ्जालमा उठेका प्रश्नको सम्बोधन गर्दै राजदूत डा. ढकालले बुझेर बोल्न र लेख्न आग्रह गरेका छन्। उनले दुई देशबीचको सम्बन्धका लागि, सम्झनाका लागि पनि आफूसँग भएका कुराहरुको आदान प्रदान गरिने हुँदा अन्तराष्ट्रिय सन्धी, सम्झौता, कानून लगायतका विषय ध्यानमा राखेर हात्ती दिएको बताए ।

‘हात्ती अझै गएको छैनन्,’ उनले भने, ‘विश्वभरको अभ्यास हो, कुनै पनि देशको प्रमुखको अर्को देशमा भ्रमण हुँदा उपहार दिने चलन हुन्छ, नेपालले पनि थुप्रै देशहरुबाट फरक फरक चिज उपहारमा पाएको छ। अहिले नेपाल सरकारले पनि त्यही अभ्यासलाई फ्लो गरेको हो । हामीले दिएको हात्ती समाजिक सञ्जालमा आए जस्तो गाडि चढेको, झरेको जस्ता छैनन्। विज्ञहरुको टोली पठाएर त्यहाँ हात्तीको लागि उपयुक्त हावापानीका बारेमा अध्ययन गरे, अन्तराष्ट्रिय कानूनका थुप्रै प्रक्रिया पु¥याएर मात्र दिने गर्छौँ अहिले गएका छैनन् र अन्तराष्ट्रिय कानूनको प्रोटोकल पुगेन भने जाँदैनन्।’

यो वर्ष उच्चस्तरीय भ्रमण हुनु भनेको महत्वपूर्ण विषय भएको बताउँदै कतारका लागि नेपाली राजदूत डा. ढकालले कतारले नेपाल प्रति हेर्ने दृष्टिकोण सकारात्मक छ भन्ने प्रष्ट पारेको र ऐतिहासिक समय भएको बताए ।

अर्को प्रशंगमा उनले नेपालबाट कतार रोजगारीमा जाने हरेककामदारले धेरै विषयमा ज्ञान लिएर जानु पर्ने बताए । कतारमा जेलमा हुने नेपालीका बारेमा छलफल भइरहेको बताउँदै उनले नेपालीले काम गर्न जाँदा पनि धेरै कुरा बुझेर जानु पर्ने बताए ।
‘कतारमा जाँदा खान, बस्नको सुविधा, तलब स्केल कति, के कामका लागि सबै कुरा बुझेर जानु पर्छ’ उनले भने, ‘सप्लाई कम्पनी हो कि भन्ने पनि यहाँ नै बुझेर गएपछि सजिलो हुन्छ । अर्को विषय भयो जेलमा जाने । कतारको कानुनले बन्देज गरेका क्रियाकलाप गरेको पाहिएमा जेल जाने हो । जेल गएपछि रोजगार दाताको, राजदूतावासको र नेपाल सरकार कसैले केही गर्न सक्दैनन्। त्यसैले त्यहाँ जाँदा गर्न नहुने र कानून लाग्ने विषयका बारेमा पनि जानकारी दिएर जानु पर्दछ ।’
कतिपय नेपालीहरुले कतारमै जाँडरक्सी उत्पादन गर्ने, कतिले सप्लाई गर्ने र कतिपय सेवन गरेर होहल्ला गरेको अवस्थामा पक्राउ पर्ने गरेको उनले बताए ।

कतारको ब्युरोक्रेसी र सरकारको जस्तै नेपालको सरकार र ब्युरोक्रेसी चल्नु पर्ने राजदूत डा. ढकालको बुझाइ छ । उनले भने, ‘कतारको सरकारमा हरेक मन्त्री सम्बन्धित विषयको विज्ञ छन् । उनीहरुले आफ्नो विषय अनुसारको मिसन र भिजन तयार गर्छन्। उनीहरुले बनाएको मिसन र भिजनलाई ब्युरोक्रेसीले सपोर्ट गर्छ, लक्ष प्राप्तिका लागि ध्यान दिन्छ । हरेक एक व्यक्तिले सरकारको मिसन र भिजन, लक्ष प्राप्ति आफ्नो काम भएको सम्झन्छन् र देश बनेको छ ।’

टेक्नोलोजीको राम्रो प्रयोगका कारण गुड गभरनेन्स भएकाले पनि त्यहाँको विकास निरन्तर भएको डा. ढकालको भनाइ छ। नेपालको हकमा भने अरुलाई गाली गर्ने प्रवित्तृ धेरै भएकाले देशले प्रगती गर्न नसकेको उनको बुझाइ छ।

‘नेपालको लिडरसिपमा भिजन, भिजन पुरा गर्ने टीम, टीम सफल बनाउँन ब्युरोक्रेसी र ब्युरोक्रेसीलाई सकारात्मक बाटोमा लैजान सरकार र जनता एकठाउँमा भएको पाइदैन । साथै नेपालमा केही भएन, केही छैन भन्ने कुरा चिरफार गर्न जरुरी छ । सकारात्मक भएर देश बन्दै छ भन्ने भाष्य बनाउन जरुरी छ,’ राजदूत डा. ढकालले भने।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array