नयाँ वर्ष २०८१ को अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना सन्देश

होस्ट खबर १ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था (राजसंस्था) प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने धारणा नेपाली जनमतमा बढ्दै गएको बताएका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको धारणा छ ।

शुक्रबार नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’

उनले नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको समेत बताएका छन् । ‘आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्‌ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्‌ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, उनको भनाइ छ ।

शाहले उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आसा जगाउन सक्नु पर्ने बताएका छन् । ‘तर हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्‌नै आशा आकाङ्क्षा र भरोसा खल्बलिदै गएको छ’, शाहको जिकिर छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको विषय भएको भन्दै उनले अब त्यो सबै कुराको पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array