उपसभापति खड्काले गरे मदन भण्डारी राजमार्गको अनुगमन

होस्ट खबर २६ चैत्र २०८०, सोमबार
2 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उप सभापति,  पूर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले मदन भण्डारी राजमार्ग अन्तर्गत भेडाबारी–धुलियाबीट सडक खण्डको अनुगमन गरेका छन् । भेडाबारी–धुलियाबीट खण्डको ३५ किलोमिटर सडक अनुगमनका क्रममा उपसभापति खड्काले स्थानीयसँग छलफलसमेत गरेका थिए ।

उपसभापति खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा सडक र सडक पुल निर्माण सम्पन्न गर्न आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले सडक निर्माणका क्रममा स्थानीयले राखेका गुनासाहरुको पनि सम्बोधन गर्न निर्देशन दिए । ‘राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई समयमै सम्पन्न गर्नु सबैको दायित्व हो,’ अनुगमनका क्रममा खड्काले भने, ‘स्थानीयका गुनासाहरुलाई पनि आयोजनाले सम्बोधन गर्दै अघि बढ्नुपर्छ ।’

कांग्रेस उपसभापतिसमेत रहेका खड्काले वर्खा सुरु हुनु अगावै धुलियाबीटदेखि बडीपाटीसम्मको सडक कालोपत्रे सम्पन्न गर्न र बडीपाटीदेखि चिंगाडसम्म ग्राभेल गरिसक्न निर्देशन दिए । ‘रातो माटो भएकाले वर्खामा यातायातका साधन सञ्चालन हुन समस्या हुन्छ, उनले भने, ‘यो जेठसम्ममा कालोपत्रे गर्न संभव नहुने ठाउँमा ग्राभेल गरेर वर्खामा सहज रुपमा यातायातका साधन चल्ने बनाउनुहोस् ।’

मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख जगदीश आचार्यले सुर्खेतको पूर्वी खण्डको भेडाबारी–बुलियाबीट खण्डको सडक निर्माण लक्ष्य अनुसार भइरहेको बताए । ‘भेडाबारीदेखि चिंगाडसम्म र धुलियाबीटदेखि बडीपाटीसम्म वर्खा अघिनै सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘बाँकी खण्डमा ग्राभेल गरेर सहज रुपमा यातायातका साधन सञ्चालन हुने बनाउँछौं ।’

कालिका केएस बेदाङ्सी जेभीका प्रमुख भीम पालले जंगल क्षेत्रमा रुख कटान ढिलो हुँदा कामको गति केही कम भएपनि अहिले लक्ष्य अनुसारनै निर्माण कार्य भइरहेको बताए । उनले अधिकांस स्थानमा जेठभित्रै कालोपत्रेको काम सम्पन्न हुने र बाँकी खण्डमा यातायातका साधन सहज रुपमा सञ्चालन हुने गरेर ग्राभेल गरिने बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array