दैलेख पेट्रोल अन्वेषण : ल्याएका तीनवटा मेसिन ट्रक दैलेख पुगे

होस्ट खबर १९ चैत्र २०८०, सोमबार
3 Min Read
Aa

सुर्खेत : दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक दैलेख पुगेका छन् । गत शनिबार साँझ वा आइतबार बिहानसम्म ती ट्रक दैलेख आईपुगेको खानी तथा भूगर्भ विभागका प्रमुख दिनेश नापितले जानकारी दिएका छन् ।

रुपैडिया नाकामा करिब एक सय ५० भन्दा बढी ट्रक आइसकेको र धमाधम ट्रकहरू दैलेख आउने तयारीमा रहेको नापितको भनाइ छ । भन्सारमा सामान्य समस्याले गर्दा केही दिन रोकिएको भए पनि अब सामान आउँदै धमाधम जडान कार्य हुने र जडान कार्यसँगै अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गरिने नापितको भनाइ छ ।

बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायतका सामानमध्ये साना मालवाहक सामानहरू सुर्खेत–दैलेख सडकखण्ड हुँदै आउने तयारी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् । ठूला ट्रकहरू कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन् । सुरक्षा निकायले सबै सुरक्षा व्यवस्थाको तयारी गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको भनाइ छ ।

ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु राख्ने पाउण्डेशनको तयारी भईसकेको छ। मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो। शनिवार साँझ उपकरण बोकेको ३ वटा ट्रक दैलेख आएसँगै काम गर्न ३ सिफ्टमा विभाजन भएर गर्न थालिएको जनाइएको छ।

अन्वेषण परियोजनाका अनुसार २४ घण्टा नै ३ सिफ्टमा काम गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ। २४ घण्टा काम गर्ने कार्य योजना भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने गरी सुरक्षा व्यवस्था मिलाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। चीनबाट सामानहरू आउन थालिसकेका छन्।

चीन सरकारको अन्वेषण परियोजनाको टोली विगत एक महिनादेखि दैलेखको भूभागमा अन्वेषणका अन्य कामहरू सञ्चालन गरिरहेको छ। पेट्रोल अन्वेषणले दैलेख मात्र नभएर सिंगोे कर्णाली र देशकै आर्थिक अवस्था सुधारको महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने आशामा रहेको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले जानकारी दिएका छन् । दैलेखमै अन्वेषण भएपछि यसबाट प्राप्त कच्चा पदार्थको प्रशोधनको काम पनि दैलेखमै हुनुपर्ने विकले बताएका छन् ।

यसअघिका अन्य तीनवटा चरणमा काम गर्दा दैलेखका करिब तीन हजारभन्दा बढी युवाले रोजगारी पाएको र यसपालि पनि स्थानीयस्तरमा जग्गा दिएका मुआब्जा पीडितहरूलाई र दैलेखकै बासिन्दालाई रोजगारीको अवसर प्रदान गर्ने सहमति भएकाले सोहीअनुसार सयौँ युवाले गाउँमै रोजगारी पाउने आशामा रहेको दैलेखका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले जानकारी दिएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array