एक रुपैयाँ घटेको पेट्रोलको भाउ चार रुपैयाँले बढ्यो

होस्ट खबर १९ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ : दुई साताअघि पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको नेपाल आयल निगमले आज चार रुपैयाँ वृद्धि गरेको छ।

भारतबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलको भाउ बढाउनु परेको निगमले जनाएको छ। तर पेट्रोल बाहेक मट्टितेल, डिजेल, खाना पकाउने ग्यासको मूल्य भारतबाट घटेर आएको भए पनि नेपालमा घटाएको छैन।

निगमले सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो। अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयँ ५० पैसा हुनेछ।

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ। काठमाडौं, पोखरा र दिपायलमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँ पुगेको छ।

भारतीय आयल कर्पोरेशनले आइतबार पठाएको नयाँ मूल्यसूची अनुसार, पेट्रोल प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढेर आएको निगमले जनाएको छ।

त्यस्तै, डिजेल र मट्टितेल ३९ पैसा, हवाइ इन्धन ३८ र खाना पकाउने एलपी ग्यास २७ रुपैयाँ ४४ पैसा घटेर आएको छ। तर एलपी ग्यासमा अझै पनि घाटा रहेकाले मूल्य नघटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array