आजदेखि एसईई परीक्षा: कर्णालीबाट ३५ हजार विद्यार्थी सहभागि हुँदै

होस्ट खबर १५ चैत्र २०८०, बिहीबार
5 Min Read
Aa

सुर्खेत : आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षासञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा पूर्वका सबै तयारी पुरा गरिसकेको छ । बिहीबारदेखि सुरु हुने परीक्षा २७ गते चल्नेछ । यस वर्षको एसईई परीक्षामा देशभरबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । जसमा कर्णाली प्रदेशमाबाट ३५ हजार आठ सय आठ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुँनेछन् । छात्रतर्फ १७ हजार ६ सय २३ र छात्रातर्फ १८ हजार एक सय ५८ जना रहेका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ ।

जिल्लागत विवरण हेर्दा रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्रहरु रहेका छन् भने तीन हजार पाँच सय ९३ जना परीक्षार्थीहरु रहेका छन् । यस्तै २५ वटा परीक्षा केन्द्र रहेको सल्यानमा चार हजार पाँच सय ८२ परीक्षार्थी छन् । हिमाली जिल्ला डोल्पाबाट सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ जना विद्यार्थीहरुले एसईई दिँदैछन् । यहाँ चारवटा मात्रै परीक्षा केन्द्रहरु तोकिएको छ । हुम्लामा ६ वटा मात्र परीक्षा केन्द्रहरु रहेका छन् भने विद्यार्थी एक हजार एक सय ९५ परीक्षार्थीहरु रहेका छन् । मुगुमा आठ वटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन् । यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी एसईईमा सहभागि हुनेछन् ।

जुम्लामा १६ परीक्षा केन्द्रमा दुई हजार पाँच सय ५७, जाजरकोटमा २२ परीक्षा केन्द्र र ४ हजार ६ सय ९४, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ र सुर्खेतमा सबैभन्दा बढी ३३ वटा परीक्षा केन्द्रहरुमा आठ हजार तीन सय ४८ परीक्षार्थीहरु परीक्षामा सहभागि हुँदैछन् ।

घट्दै विद्यार्थी, खस्कदो गुणस्तर

कर्णालीमा हरेक बर्ष एसईई दिने परीक्षार्थीहरुको संख्या वृद्धि हुनुको साटो घट्दै गइरहेको तथ्यांकले देखाउँछ । गत बर्ष प्रदेशका ३८ हजार नौ सय ७० जना विद्यार्थीहरू एसईईमा सहभागी भएकोमा यो बर्ष तीन हजार एक ६२ जना विद्यार्थीहरु घटेको देखिन्छ । राजधानीसमेत रहेको सुर्खेतमा पनि विद्यार्थीको संख्या घटेको देखिन्छ । सुर्खेतमा गतबर्षभन्दा एक हजार बढी विद्यार्थीको संख्या घटेको छ । गत बर्ष सुर्खेतबाट नौ हजार एक सय ३९ विद्यार्थीले एसईई दिएका थिए । सुर्खेतमा मात्रै होइन कर्णालीका सबै जिल्लामा विद्यार्थीको संख्या घटेको देखिन्छ ।

तथ्यांकमा विद्यार्थीको संख्या घटे पनि के कारणले विद्यार्थीको संख्यामा ह्रास आइरहेको छ भन्ने विषयमा अध्ययन तथा विश्लेषण राज्यले अझै पनि गरेको देखिदैन । यद्यपी अन्य प्रदेशको तुलनामा भौगोलिकरूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नगरिदिनु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद्हरु बताउँछन् । हिमाली जिल्लाहरुमा पनि विद्यार्थीको संख्या घटिरेहको छ । गत बर्ष हुम्लामा एक हजार दुई सय ३४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए भने मुगुमा एक हजार ६ सय ६६ र डोल्पाका ६ सय ९८ जना परीक्षार्थी रहेका थिए ।

कालिकोटमा तीन हजार सात सय ६६, जुम्लाका दुई हजार आठ सय ७७ जना परीक्षार्थी रहेका छन् । जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार सात सय ३५ परीक्षार्थी रहेका छन् । विद्यार्थीको संख्या घट्नुको पछाडि गरिबी जोडिन्छ । आर्थिक अभावका कारण कतिपय विद्यार्थीहरु ७–८ कक्षा पढ्दापढ्दै स्कुल छाड्ने गर्दछन् । आर्थिकरुपले सम्पन्न परिवार सरकारी विद्यालय भन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको सरोकारवालाहरु बताउँछन् ।

उसै पनि कर्णालीमा १ कक्षामा भर्ना भएकामध्ये कक्षा १० सम्म पुग्दा विद्यार्थीहरु निकै न्यून हुने गरेको विभिन्न तथ्यांकहरुले देखाउँदै आएको छ । नेपाल राष्ट्र बैंकले कर्णालीमा गरेको सर्वेक्षण अनुसार गत आर्थिक बर्ष वर्ष २०७९/८० मा सरकारी तथा सामुदायिक विद्यालयमा चार दशमलव१ प्रतिशतले विद्यार्थी संख्या घटेको छ । तर, निजी विद्यालयमा भने २२ दशमलव २३ प्रतिशतले वृद्धि भएको देखाएको छ । बेलैमा पुस्तक नपाउँने कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर बर्षेनि खस्कँदै गएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ मा प्रदेशगत रुपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा एक सय १४ परीक्षार्थीले मात्र तीन दशमलव ६ देखि चार जिपिए अंक ल्याएका छन्, जुन अन्य प्रदेको तुलनामा निकै कमजोर हो । एसइईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये नौ सय ५१ ले मात्र ‘ए’ ग्रेड ल्याए ।

गत बर्ष जम्मा दुई सय ४० विद्यार्थीले ३ दशमलव ६० देखि चार जीपीए ल्याएका थिए । त्यस्तै एक हजार तीन सय ३२ विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए, तीन हजार ६ सय ८८ विद्यार्थीले दुई दशमलव ८० देखि तीन दशमलव २० जीपीए, आठ हजार एक सय १२ विद्यार्थीले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए, ११ हजार दुई सय ३९ विद्यार्थीले दुई देखि दुई दशमलव ४० जीपीए ल्याएको थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array