सुर्खेतका चार पालिकामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने

होस्ट खबर १ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

सुर्खेत : सुर्खेतमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ । १ चैत देखि सुरु हुने अभियानमा कोरोना भाइरसको बुस्टर डोज लगाउन छुटेका विशेष गरी १२ वर्ष माथिको उमेर समूहलाई समेट्ने लक्ष्य राखिएको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कोभिड १९ विरुद्धको खोप कार्यक्रमका लागि जिल्ला खोप समन्वय समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले कोरोनाको बुस्टर डोजको कम कभरेज भएका पालिकामा खोप अभियान सञ्चालन गर्न लागेको बताए ।

स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोरोना–१९ विरुद्धको फाईजर खोप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, पञ्चपूरी नगरपालिका, चौकुने गाँउपालिका र चिगांड गाँउपालिकामा १ चैतदेखि ३ गतेसम्म सञ्चालन हुने उनले बताए ।

अभियानमा यी पालिका अन्तर्गत पर्ने स्वास्थ्य संस्थामा ४४ वटा खोप केन्द्रमार्फत १९ हजार ८ सय डोज फाइजर खोप लगाइने छ । जसका लागि चार वटै स्थानिय तहमा ३ हजार तीन सयका दरले खोप पठाइ सकिएको उनले बताए ।

‘यो अभियान अन्तर्गत कोरोनाको कुनै पनि डोज नलिएकालाई विशेष प्राथमिकतामा राखेका छौं,’ गौतमले भने, ‘यसका अलवा पहिलो र दोस्रो डोज लिएका तर, बुस्टर डोज लिन छुटेकाहरु पनि अभियानमा समावेश हुन्छन्, यसका लागि हामीले सबै तयारी पुरा गरिसकेका छौं, खोप एकदमै प्रभावकारी छ, यसअघि विविध कारणले छुट्नु भएका सबैलाई यस अभियानमा जोड्ने लक्ष्य हाम्रो हो ।’

गौतमका अनुसार सुर्खेत जिल्लामा कोभिड १९ विरुद्धको पहिलो डोज ९१ दशमलव ६ प्रतिशत, दोस्रो डोज ८० दशमलव ९ प्रतिशत नागरिकले लगाएका छन् । त्यस्तै, पहिलो बुस्टर ३६ दशमलव ८ प्रतिशत र दोस्रो बुस्टर १ दशमलव ४ प्रतिशत नागरिकले मात्रै लगाएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array