मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहको अपमानजनक बिदाइ

होस्ट खबर १७ फाल्गुन २०८०, बिहीबार
3 Min Read
Aa

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ गरियो ।

उपकुलपति सिंह कार्यकाल सकेर विश्वविद्यालयबाट बाहिरिँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला खुल्न सकेन । प्र्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै गत असोज १२ गते विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । सम्बन्धन अन्तर्गत सञ्चालनमै नआएका कार्यक्रमहरु चोरबाटोबाट थप गर्न लागेको, आफूखुसी २५ जना पीएचडी होल्डरलाई नियुक्ति दिइएको, प्रधानमन्त्रीको कार्यालयको अवज्ञा गर्दैै बिना विज्ञापन कर्मचारी नियुक्ति गरेको, विश्वविद्यालयको आफ्नै संरचना प्रशस्त हुँदाहुँदै एक जना डीनको घरमा एउटा फ्याकल्टीको कार्यालय राखिएको लगायतका विषयमा प्राध्यापक तथा विद्यार्थी संघ संगठन आन्दोलित भएका हुन् ।

तालाबन्दी गर्नेमा नेकपा माओवादी, कांग्रेस, एकीकृत समाजवादी निकट प्राध्यापक र विद्यार्थी संघ–संगठन छन् । विप्लव निकट विद्यार्थी संगठनले पनि आन्दोलनलाई साथ दिएको छ ।

यो बिचमा १४ पटक वार्ता बसे पनि सहमति नजुट्दा अहिलेसम्म तालाबन्दी कायमै छ । उपकुलपति सिंहले यो अवधिमा निवासबाटै विश्वविद्यालय चलाए । बाहिरिँदै गर्दा पनि विश्वविद्यालयको आफ्नो कार्यकक्षमा उनले पाइला टेक्न पाएनन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा नारायण पौडेलले केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न सोमबार अपिल गरेका थिए । अपिलमा भनिएको छ, ‘केन्द्रीय कार्यालयमा विगत पाँच महिनादेखि विभिन्न मागहरु राख्दै तालाबन्दी भइरहेको छ, तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक प्रशासनिक एवम् आर्थिक प्रशासनिक कामकाजहरु ठप्प भएका छन् ।

साथै प्राध्यापक तथा विद्यार्थी संगठनहरुसँग पटक–पटक वार्ता गर्दा संवाद निष्कर्षविहीन भयो । तालाबन्दी कायमै रहँदा उपकुलपतिज्यूको फाल्गुन १५ गते आयोजना गरिएको बिदाइ कार्यक्रम विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट गर्न कठिन हुने अवस्थामा उपकुलपतिज्यूको सम्मानजनक बिदाइ कार्यक्रम गर्नका लागि केन्द्रीय प्रशासनिक केन्द्रमा लागेको ताला तत्काल खोलेर सहयोग गर्न अपिल गरिन्छ ।’

तर, प्राध्यापक संघ–संगठन तथा विद्यार्थीहरु नेताहरुले ताला खोल्नु त परै जावस्, मंगलबार उपकुलपति सिंहकै निवासमा पुगेर बिहानैदेखि आन्दोलनमा उत्रिए ।

‘उपकुलपतिले जाने बेलामा केही निर्णय गर्ने हुन् कि’ भन्नै भ्रम पालेका प्राध्यापकहरुले आफू निकट राजनीतिक दलका विद्यार्थी नेताहरुलाई बोलाएर आन्दोलन गराइरहेका थिए । जसका कारण दिउँसो १२ः३० बजे राखिएको पत्रकार सम्मेलन समेत हुन सकेन ।

आन्दोलन बढ्ने देखिएपछि त्यहाँ जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी तैनाथ थिए । सिंहको पत्रकार सम्मेलनका लागि पुगेका पत्रकारहरु रित्तो हात फर्किनुपर्यो ।

बेलुका ६ बजेतिर पुनः पत्रकारलाई बोलाइयो । तर, त्यहाँको अवस्था झन् तनावग्रस्त थियो । भित्र पत्रकार सम्मेलन भइरहँदा बाहिर सिंहविरुद्ध चर्को नाराबाजी भइरह्यो । उनी विरुद्ध मुर्दावादका नाराहरु लागिरहे । तर, सिंहले आफ्नो कार्यकालमा भएका गतिविधिहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलन बिट मारे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array