कालीकोट विमानस्थल उद्घाटन पछि उपप्रधानमन्त्री खड्काले भने: चुनावी प्रतिबद्धता पूरा हुँदै छन्

होस्ट खबर १४ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

सुर्खेत : कालीकोटको सुनथराली विमानस्थल उद्घाटन भएको छ । सोमबार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतले विमानस्थलको उद्घाटन गरेका हुन् ।

उपप्रधान एवम् रक्षामन्त्री खड्काले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए। निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए।

उनका अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।

उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेको बताएका थिए। शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा खड्काको भनाइ छ।

‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन। सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं। कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उनले भने।

उपप्रधानमन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए।’

‘कालिकोटको विकासको लागि केन्द्र सरकारको तर्फबाट पहल गरिरहेको छु, कालिकोटका पर्यटकीय क्षेत्रको विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ,’ उनले भने।

मुलुकमा विमानस्थल कम भए पनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूको लागि सहयोगी हुने उनको भनाइ छ।

कालिकोटको पर्यटन, कृषि र अन्य विकासमा सरकारले सहयोग गरिरहेको उनले बताए। १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै उनले त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array