रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार

होस्ट खबर ३ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको छ ।

मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को जानुपर्ने भन्दै आएको थियो ।

क्षतिपूर्तिका लागि रुसमा रहेको नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।

दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भैसकेको छैन ।

रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन । रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array