कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता जुम्लामा हुने

होस्ट खबर १७ माघ २०८०, बुधबार
2 Min Read
Aa

जुम्ला : कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा आयोजना हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएको हो।

जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुनेछ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले जानकारी दिए।

प्रतियोगिताबाट ०८१ सालमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको टिम छनोट हुनेछ। फागुन २४–३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ। जिल्ला फुटबल संघ जुम्लाले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको महासचिव दीपेन्द्विक्रम हमालले बताए। उनले भने, ‘फागुन ११ गते बेलुका ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ।’

टिम दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र संघको इमेलमा पठाउनुपर्ने महासचिव हमालको भनाइ छ। प्रतियोगिता सुरु भएदेखि आफ्नो टिमको खेल सकिँदासम्म प्रत्येक टिमका खेलाडीले जनही रु। एक हजार भत्ता पाउने व्यवस्था पनि रहेको छ।

रेफ्री तालिम पनि जुम्लामै
जुम्लामै फागुन १०–१४ गतेसम्म प्रदेशस्तरीय रेफ्री तालिम पनि हुने भएको छ। कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको संघका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए।

तालिमका लागि प्रत्येक जिल्लाबाट तीनजनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल संघले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने बताइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्