आज शिवालयहरुमा महादीपदान गरिँदै

होस्ट खबर २४ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ ।

पशुपतिनाथ मन्दिरका साथै देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्ने प्रचलन छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलन गर्न र तोकिएका मुख्य क्षेत्रहरुमा शतबीज छर्ने व्यवस्था मिलाएको बताएको छ ।

मृतकका परिवारका सदस्यले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बालेर भजनकीर्तन गर्ने गर्दछन् । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मृतकका आफन्तले काठमाडौंमा एक सय आठ शिवलिङ्ग, कैलाश, गौरीघाट, गुह्येश्वरी, पशुपति, आर्यघाट, मृगस्थली, किरातेश्वर, विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।

भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बालेर बस्ने ठाउँमा सुरक्षा व्यवस्था, टेन्ट र पार्किङ लगायतका व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक साताका लागि पशुपति मन्दिरवरपरका क्षेत्रमा माछा मासु तथा मदिरा र अन्य नशालु पदार्थ सेवन तथा बिक्री–वितरणमा रोक लगाइसकेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array