नवराज विक हत्या प्रकरण: २४ जनालाई जन्मकैदको फैसला

होस्ट खबर २० मंसिर २०८०, बुधबार
2 Min Read
Aa

रुकुम पश्चिम : जिल्ला अदालत रूकुम पश्चिमले साढे ३ वर्षअघि चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जन्मकैदको सजायको फैसला सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

यसअघि नै धरौटीमा छुटेका ८ जनाले भने सफाइ पाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले दुइ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

नवराज विककी प्रेमिकाका बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २र२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए ।

त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये १ जना ९किशोरीकी आमा० धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्