कर्णालीका बालबालिकाले गरे संसदीय अभ्यास

होस्ट खबर १० मंसिर २०८०, आईतवार
2 Min Read
Aa

सुर्खेत : कर्णालीका बालबालिकाले आफ्ना मौलिक अधिकारदेखि नमुना संसदीय अभ्यासको समीक्षा गरेका छन् । बुधबारदेखि वीरेन्द्रनगरमा बालबालिकाको क्षमता विकासका लागि संचालन भएको ३ दिने तालिमको शनिबार समापन अवसरमा कर्णालीका १० जिल्लाबाट प्रदेश बाल क्लब संजालमा आवद्ध बालबालिकाले संविधानमा व्यवस्था भएका आफ्ना अधिकारका बारेमा नमुना संसदमार्फत छलफल गरेका हुन् ।

सो अवसरमा बालअधिकार, बालबालिकाको क्षेत्रमा भए गरेका गतिविधि र आगामी योजनाका बारेमा छलफल गरेका बालबालिकाले शनिबार नमुना बाल सांसदको भूमिकामा संसद बैठक संचालन गरेका थिए ।

उक्त नमुना संसद बैठकमा बालबालिकाले संविधानमा व्यवस्था भए अनुरुप बालबालिकालाई आर्थिक, सामाजिक, राजनीतिक तथा नीतिगत रुपमा संरक्षण गरिनुपर्ने धारणा राखेका थिए ।

बालअधिकारका विषयमा पैरवी, अभियान र वकालत तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण, अन्तर्वर्गीयता, यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता, जलवायु परिर्वतन र वातावरण संरक्षण लगायतका सवालमा बालबालिकाले नमुना संसदमार्फत धारणा राखेका थिए ।

बालअधिकारका लागि साझा अभियान कर्णालीले वीरेन्द्रनगरमा आयोजना गरेको तालिममा प्रदेशका १० वटै जिल्लाका २५ बालबालिका र १० जना अभिभावकको सहभागिता रहेको थियो ।

तालिमको समापनमा बोल्दै प्रदेश सांसद तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले नमुना बाल संसदमा बालबालिकाले गरेको संसदीय अभ्यासले बालबालिका पनि आफ्ना अधिकारका लागि पैरवी गर्न सक्छन् भन्ने सन्देश दिएको बताए ।

नमुना बाल सांसदहरुको बोलिमा देखिएको ढुक्कता र नयाँ सोचले समाज रुपान्तरणमा समेत सकरात्मक प्रभाव पर्ने उनले बताए । यस्तै बालअधिकारका लागि साझा अभियान कर्णालीका अध्यक्ष टिकाराम आचार्यले नमूना बाल सांसदहरूलाई तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्न र विद्यालय तथा समाजका अन्य बालबालिकालाई पनि सिकाउन अनुरोध गरे ।

तालिमबाट आगामि दिनमा प्रदेश बालक्लव सञ्जालको सक्रियतामा अभिवृद्धि हुने अपेक्षा लिइएको आचार्यले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्