मुगु हत्या काण्ड: अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

होस्ट खबर १२ कार्तिक २०८०, आईतवार
3 Min Read
Aa

सुर्खेत : मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएपछि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ ।
शुक्रवार जिल्लाको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीन छोराछोरीको विभित्स अवस्थामा शव फेला परेको थियो ।

उक्त घटनाको थप अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) बाट कुकुरसहित प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विषेश अनुसन्धान टोली घटनास्थल पुगेको हो ।

अनुसन्धान टोली घटनास्थल पुगेपछि शव उठाउने तयारी भइ रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसवीका कारण घटना घटेको आशंका गरिएको छ । डीएसपी थापाका अनुसार शंकास्पद केही व्यक्ति माथी उच्च निगरानीका साथ सुक्ष्म अनुसन्धान भइरहेको छ ।

मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका थिए । मृत अवस्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइत गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।

आज जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्