नब्बे वर्षिय मथुराले बुझाए २००७ साल नेपाली कांग्रेसको सदस्यता

होस्ट खबर १२ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-१ निवासी ९० वर्षीय मथुरा प्रसाद श्रेष्ठले आज आफूले २००७ साल चैत्र २६ गते प्राप्त गरेको नेपाली कांग्रेसको सदस्यता रेकर्डका लागि कांग्रेस मुख्यालयमा बुझाएका छन् ।

२०९० साल बैशाख १२ गते जन्मीएका श्रेष्ठले १८ वर्षको उमेरमा लिएको सदस्यता नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेललाई पार्टी कार्यालयमै पुगेर बुझाएका हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पादन गरेको नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेजमा अहिलेसम्मकै पुरानो सदस्यता भन्दै स्याङ्जाका चोलप्रसादको संकलनबाट भन्दै २००९ सालको सदस्यता प्रकाशित गरेका छन् ।

९० वर्षीय मथुरा प्रसाद श्रेष्ठले आज बुझाएको सदस्यताले त्यो सदस्यतालाई विस्थापित गरिदिएको छ । अर्को कसैको सदस्यता नआउँदासम्म श्रेष्ठको सदस्यताले जेष्ठताको मान्यता पाउने छ । श्रेष्ठको सदस्यता ग्रहण गर्दै मुख्य सचिव पौडेलले ऐतिहासिक सदस्यता पार्टीको दस्तावेजमा समावेश गर्ने भएका छन् ।

सदस्यतामा सभापति मातृका प्रसाद कोइराला र प्रधानमन्त्री महेन्द्र विक्रम शाहले हस्‍ताक्षर गरेका छन् । हाल महामन्त्री भनिने पदलाई त्यसबेला प्रधानमन्त्री भनिने गरेको जानकार बताउँछन् । स्मरण रहोस ९० वर्षीय श्रेष्ठका कान्छा छोरा भुवन प्रसाद श्रेष्ठ हाल लुम्बिनी प्रदेशको उपसभापति पदमा सकृय छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्