दैलेखका चार स्थानमा चट्याङ पर्दा एक जनाको मृत्यु, १९ घाइते

होस्ट खबर २९ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : बिहिबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको छ । महाबु गाउँपालिका–१ खरिगैरा, ओखलढुङ्गा, डुङ्गेश्वर गाउँपालिका–६ लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङले क्षती पु¥याएको हो । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ओखलढुङ्गा स्थित मानबहादुर सेनको घरमा चट्याङ परेको थियो । उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् भने घरमा बाँधेको बाख्रा मरेको छ । घाइते पदमकुमारीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

यस्तै, खरिगैरास्थित महेन्द्र बहादुर खत्री, दलबहादुर गुरुङ र जयबहादुर गुरुङको घरमा चट्याङले क्षती पु¥याएको छ । चट्याङका कारण ४२ वर्षिया भुमिसरा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । भुमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा साँझ ६ बजे मृतक घोषणा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

चट्याङबाट दलबहादुर गुरुङ, जयबहादुर गुरुङ, सम्झना गुरुङ, रोशनी गुरुङ, खरजंग गुरुङ घाइते भई बेहोस भएकोले जिल्ला अस्पताल दैलेखबाट प्रदेश अस्पताल सुर्खेत रिफर भएका छन् ।

यस्तै, शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिसिर सेन, करिष्मा सेन, कबिराज थापा, शेरबहादुर सेन, पदमाकुमारी सेन, मनसरा जैशी र मिन बहादुर थापा घाइते छन् । उनिहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ ।

यसैगरी, नारायण नगरपालिका ४ तामेखोला स्थित दिलबहादुर खड्काको गोठमा चट्याङका कारण एक गोरुको मृत्यु भएको छ भने अर्को घाइते भएका छ । उक्त चट्याङबाट स्थानीय पार्वती कठायत र नन्दा कठायत घाइते भई बेहोस अवस्थामा जिल्ला अस्पताल दैलेखबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्