आज केही प्रदेशमा भारी वर्षा

होस्ट खबर ३ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ : देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

तीन वटा प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

नेपालमा अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा छ । नेपालमा हाल भारतको छत्तिसगढ र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्