अनुदानको मल महंगोमा बिक्री

होस्ट खबर २२ श्रावण २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं : सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतवार अनुुगमन गरेको छ ।

अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख कडरिया सहितको टोली अनुगमनमा गएको थियो ।

अनुुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले २१ रुपैयाँको युरिया ३५ र ५० रुपैयाँको डीएपी ६५ रुपैयाँमा बिक्री गरेको पाइएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

मल बिक्री वितरण गर्ने अनुमति समेत नपाएको सो पसलले उपभोक्ता सहकारी संघबाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको भेटिएको बताउँदै उनले सोमवार २ बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको र बाँकी २५ बोरा युरिया, ६ बोरा डीएपी र ५ बोरा पोटास बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।

स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रमा किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बोलाइएको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकेको थियो । रासस

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्