कहाँ जान्छ बरामद भएको अवैध सुन ?

होस्ट खबर ६ श्रावण २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौं : नेपालमा भन्सार छलेर र अवैध बाटोमार्फत् ल्याइने गरेका सुन समय–समयमा बरामद हुने गरेको छ । यही क्रममा यो साता ठूलो मात्रामा सुन फेला परेपछि त्यसलाई ’कस्टडीमा राखेर’ थप प्रक्रिया अगाडि बढाउन थालिएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले भनेको कस्टडी अरूको पहुँच नहुने सुरक्षित स्थान हो । बरामद गरिएको सुनको सुरक्षित भण्डारण गर्न तथा तौल लिन त्यसलाई नेपाल राष्ट्र ब्याङ्क पठाइसकिएको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ । बरामद सुन सुरुमा नेपाल राष्ट्र व्याङ्कको टक्सार महाशाखाले तौलिने गर्छ ।

‘त्यहाँ मिहिन ढङ्गले जोख्ने प्रक्रिया छ । किनकि सुनजस्तो बहुमूल्य वस्तुमा कोठाभित्र र बाहिर नै तौल गर्दा समेत केही फरक पर्न सक्छ,’ टक्सारमा काम गरिसकेका राष्ट्र व्याङ्कका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल भन्छन् । टक्सार महाशाखाले एउटा समिति बनाएर काम गर्छ ।

उक्त समितिमा बरामद गर्ने सुरक्षा निकाय, भन्सार वा राजस्व अनुसन्धान विभाग लगायत निकायका प्रतिनिधि समेत हुन्छन् । तौल लिने काम सकिएपछि महाशाखाले एउटा पत्र तयार पार्छ जसमा ‘सुनजस्तो देखिने पहेँलो धातु’ लेखिएको हुन्छ । ‘किनकि सुन त नगलाईकन यकिन हुँदैन,’ नेपाल भन्छन् । बरामद भएको सुनको विषयमा मुद्दा पनि पर्न सक्ने भएकाले कानुनी टुङ्गो नलाग्दासम्म उक्त सुन राष्ट्र ब्याङ्कको ’कस्टडीमा’ राखिने अधिकारीहरू बताउँछन् ।

गलान कमिटीले के गर्छ
बरामदकर्ता निकायले उक्त सुनमा कुनै विवाद वा मुद्दा नभएको कुरा लिखित रूपमा पेस गरेपछि पुनः राष्ट्र ब्याङ्क सक्रिय हुन्छ । उक्त निकायलाई सुन निर्क्योल गरेर त्यसबापतको रकम नेपाल सरकारको खातामा जम्मा गर्नका लागि अनुरोध आएपछि त्यहाँ हुने ‘गलान कमिटी’को काम सुरु हुन्छ ।

कार्यकारी निर्देशक नेपाल भन्छन्, ‘राष्ट्र ब्याङ्ककै विभिन्न विभागका प्रतिनिधि र सुन ल्याउने सम्बन्धित निकायका प्रतिनिधिको रोहबरमा सुनलाई पगालेर त्यो कुन ‘टच’को भन्ने निर्क्योल गरिन्छ ।’ बजारमा सुनलाई ‘क्यारेट’मा मूल्याङ्कन गरिए जस्तै राष्ट्र ब्याङ्कको भाषामा त्यसको गुणस्तरलाई ‘टच’ भनिन्छ ।

त्यस्तो वर्गीकरण सूक्ष्म ढङ्गले हुने अधिकारीहरू बताउँछन् । उच्च तापक्रममा ठूलो मात्रामा सुन गलाउनका लागि राष्ट्र ब्याङ्कमा ‘फर्निस’ भट्टी छ । त्यसरी गलाउने काम सकिएपछि त्यस दिन अन्तर्राष्ट्रिय बजारमा चलेको सुनको मूल्यलाई आधार मानेर त्यसमा पाँच प्रतिशत थपेर सरकारको खातामा पैसा जम्मा गरिने कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् ।

समय कति लाग्छ ?
यस पटक हङ्कङबाट दुईपाङ्ग्रे सवारीसाधनको ‘ब्रेक शू’ मा लुकाएर ल्याइएको झन्डै ११५ केजी सुन बरामद भएको बताइएको छ । उक्त परिमाणको सुन गलाउनका लागि तीनदेखि चार दिनसम्म लाग्न सक्ने राष्ट्र ब्याङ्कका अधिकारीहरूको आकलन छ । ‘सुनको गुणस्तरका आधारमा फर्निसले कामको गति लिने भएकाले त्यो अहिले नै भन्न सकिन्न,’ नेपाल भन्छन् । धेरैखाले सुन मिश्रित भएको भएमा केही बढ्ता समय लाग्न सक्छ ।

अन्यथा एक पटकमा १० किलोग्राम सुन गलाउन सक्ने हाम्रो फर्निसको क्षमता छ । एक पटकको प्रक्रिया पूरा गर्न डेढ घण्टासम्म लाग्छ ।’ सुन गुणस्तरीय हुँदाका हकमा एकैदिन ३० केजीसम्म गलाउन सकिने नेपाल बताउँछन् । राष्ट्र ब्याङ्कमा पुर्याइएपछि त्यहाँ चौबिसै घण्टा निगरानी गर्ने क्यामरासहितका सुरक्षा प्रणाली रहेकाले सुन ‘तलमाथि’ हुने कुनै सम्भावना नहुने अधिकारीहरू बताउँछन् ।

अनुसन्धान कसरी अघि बढ्छ ?
पाटन उच्च अदालतले यस घटनामा संलग्न सातजना आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्न बिहीवार १० दिनको समय दिएको छ । सय किलोसम्म सुन काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कसरी तस्करी सम्भव भयो भन्नेबारे अनुसन्धान गर्न भन्सार विभागले समेत एउटा छानबिन समिति गठन गरेको महानिर्देशक नवराज ढुङ्गानाले बताए ।

‘यो सुनको असली मालिक को हुन् र यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्दै उनीहरूलाई कानुनको दायरामा ल्याउने गरी अनुसन्धान अघि बढ्छ,’ उनले भने । ढुङ्गानाका अनुसार अहिलेको सुन तस्करी प्रकरणमा बिहीवार साँझमा पक्राउ परेका तीन जनासहित १० जना पक्राउ परेका छन् ।

तीमध्ये एक विदेशी नागरिक छन् । भन्सार विभागले पनि आन्तरिक छानबिन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार प्रणालीमा केही खराबी भएको अथवा एक्सरे मशीनमा नदेखिएको हो कि मान्छेको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array