आजदेखि हवाई टिकटमा मूल्य अभिवृद्धि कर, आन्तरिक उडानको भाडा महङ्गियो

होस्ट खबर १ श्रावण २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं : आन्तरिकतर्फको हवाई भाडामा सोमबारदेखि १३ प्रतिशत अतिरिक्त मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। आर्थिक वर्ष २०८०र८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था अनुसार नयाँ आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर लाग्ने भएको हो। सोमबारदेखि आन्तरिकतर्फको हवाई टिकट छदेखि नौ प्रतिशतसम्म बढ्ने भएको छ।

नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले आन्तरिक हवाई उडानका लागि टिकटमा यात्रु सेवा शुल्क, इन्धन खर्च र हवाई शुल्क गरी तीन शीर्षकका मूल्यका आधारमा अभिवृद्धि कर जोडेर टिकटको मूल्य निर्धारण हुन लागेको जानकारी दिए। उनले भने, “सरकारले गरेको व्यवस्था अनुसार पहिलो पटक हवाई भाडामा मूल्य अभिवृद्धि कर लागु हुन लागेको हो। हवाई टिकटको मूल्य सोमबारदेखि बढ्ने भएकाले यसअघि नै टिकट काटेका यात्रुले समेत १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ। हवाई कम्पनीले कसरी लिन्छन् भन्ने स्पष्ट भने छैन।” आन्तरिकतर्फको हवाई भाडा बढे पनि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीले भने हवाई भाडा बढाएका छैनन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बजेटमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थामा टेकेर सरकारले आन्तरिकतर्फका उडानमा सोमबादेखि सो व्यवस्था लागु हुने भए पनि अन्तर्राष्ट्रियतर्फ भने के गर्ने भन्ने अन्योल रहेको बताए। “अन्तर्राष्ट्रिय हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने विषयमा सबै जिम्मेवारी इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ९आएटा० को हो”, उनले भने, “यस विषयमा अर्थ मन्त्रालयबाट समेत आधिकारिक पत्राचार नभएकाले पत्र आएको एक महिनापछि मात्रै उक्त व्यवस्था कार्यान्वयन हुन सक्ने छ।”

उनले नेपालमा आएटाको आधिकारिक हवाई सेवा नेपाल वायुसेवा निगम भएकाले कुनै कर लागू भए त्यसलाई हवाई टिकटमा समावेश गर्नुपर्ने अवस्थामा प्राधिकरणले निगममार्फत आएटालाई पत्र पठाउने व्यवस्था रहेको बताए। अहिलेकै अवस्थामा सोमबारदेखि अन्तर्राष्ट्रिय उडानका टिकटमा मूल्य अभिवृद्धि दर कायम नहुने उनको भनाइ छ।

सरकारले पहिलो पटक हवाई टिकटमा मूल्य अभिवृद्धि कर लागु गरेको हो। सरकारले पर्यटन क्षेत्र अन्तर्गत हवाई क्षेत्रलाई पनि सेवामूलक उद्योगको सूचीमा राखेर हालसम्म मूल्य अभिवृद्धि कर लिने गरेको थिएन। नयाँ प्रावधान अनुसार अबदेखि भाडादरसहित जहाज, इन्जिन र पार्टपुर्जा आयातमा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिने छ भने सबै हवाई कम्पनी मूल्य अभिवृद्धि करमा दर्ता भएको हुनुपर्ने छ। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्