पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

होस्ट खबर १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ र तेस्रो वर्गमा पाँचले मूल्य घटाइएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १६९ र तेस्रो वर्गका क्षेत्रमा १७० तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर १७५ थियो । यस्तै, डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु १४९ र तेस्रो वर्गका क्षेत्रमा रु १५० निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ११५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्