कर्णालीमा झण्डै ३५ हजार बढी नागरिक प्रभावित हुने आकलन

होस्ट खबर ९ असार २०८०, शनिबार
5 Min Read
Aa

सुर्खेत : यस वर्ष मनसुनजन्य प्रकोपबाट कर्णाली प्रदेशमा झण्डै ३५ हजार ३ सय ३३ जना प्रभावित हुने आकलन गरिएको छ । विगतको तथ्यांकलाई हेर्ने हो भने कर्णाली प्रदेशका रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । कर्णालीमा चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा विपद्का घटनामा परी ६५ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा कर्णालीमा ३ सय ४८ वटा बाढीपहिरोका घटना भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीमा २ हजार १ सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन् भने २ हजार ९ सय ४७ घरपरिवार विस्थापित भएका छन् । यस्तै, १ सय १४ जना घाइते भएका छन् भने ६ हजार २ सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुग्दा ६४ करोड ४६ लाख ३१ हजार ७ सय ८४ रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको छ । चालु आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै विपद्का घटना हुम्ला जिल्लामा भएका छन् । हुम्लामा ९ सय ४० वटा मनसुनजन्य घटनामा परी आठ जनाको मृत्यु हुँदा ६ जना घाइते र ९ सय ४ घरमा क्षति पुगेको छ । घटनामा दुई जना बेपत्ता छन् भने ३ हजार २ सय ८६ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरीको तथ्यांक छ ।

यस्तै, डोल्पामा सबैभन्दा कम विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा डोल्पामा १५ वटा विपद्का घटना घट्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते हुँदा ३२ परिवार विस्थापित भएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै, सुर्खेतमा ४ सय ३४ वटा विपद्जन्य घटनामा परी १८ जना घाइते भएका छन् भने ३ सय ७९ घरमा क्षति पुग्दा ५ सय ६६ घरपरिवार विस्थापित भएका छन् ।

कर्णालीका जिल्लागत अवस्थामा हेर्दा पहिरोको उच्च जोखिमा रहेको दैलेखमा १ सय ६२ विपद्का घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ११ जना घाइते हुँदा दुई जना बेपत्ता, १ सय ४९ घरमा क्षति पुगेको छ । ६ सय ६५ घरपरिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ । सल्यानमा २ सय ३४ वटा घटनामा परी चार जनाको मृत्यु भएको छ भने २ सय ३४ घरमा क्षति पुग्दा ४४ जना घाइते भएका छन् । सल्यानमा ६ सय ४ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, मुगु जिल्लामा ५० मनसुनजन्य घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन्, भने एक जना घाइते र तीन जना बेपत्ता भएका छन् । ४ सय ७१ घरमा क्षति पुगेको छ । ५ हजार ३ सय ८६ परिवार विस्थापित भएका छन् । चालु आर्थिक वर्षमा रुकुम पश्चिममा ७६ वटा मनसुनजन्य घटना भएकोमा चार जनाले ज्यान गुमाएका छन् । ५५ घरमा क्षति पुग्दा ६ जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । १७ घरपरिवार विस्थापित भएका छन् । जाजरकोटमा ५५ घटनामा चार जनाले ज्यान गुमाउँदा ६ जना घाइते भएका छन् । ३० घरमा क्षति पुग्दा १७ परिवार विस्थापित भएका छन् ।

जुम्लामा ३२ विपद्का घटनामा ११ जनाले ज्यान गुमाउँदा आठ जना घाइते र एक जना बेपत्ता भएका छन् । यस्तै, १ हजार ७ सय १० घरमा क्षति पुग्दा १ हजार ९ सय ५६ घरपरिवार विस्थापित भएका छन् । १ सय ६९ विपद्का घटना हुँदा कालीकोटमा १ हजार ४ सय ७५ घरमा क्षति पुगेको छ भने २४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । घटनामा परी आठ जना घाइते हुँदा १९ जना बेपत्ता भएका छन् । ७ हजार ४ सय १८ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ ।

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायाले विपद्पूर्व र विपद् पछिको खोज उद्धार, राहत र पुनर्स्थापना लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको नेपाली रैबारलाई बताए ।

सरकारले चालु आर्थिक वर्षमा विपद् पूर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० लाई अध्यावधिक गरी केही दिनमै लागू गर्ने तयारी गरिरहेको रोकायाले बताए । विपद्पूर्व विभिन्न खालका जनचेता जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय तथा रेडक्रसको उद्धार टोली हेलिकोप्टरसहित तयारी अवस्थामा रहेको उनले बताए ।

कर्णालीमा विपद् घटनामा परेका नागरिकलाई राहत वितरणमा भौगोलिक विकटता, यातायातको असुविधा तथा एकद्वार प्रणाली लागू नहुँदा समस्या हुने उनको भनाइ छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १ लाख र चालु आर्थिक वर्ष २०७९/८० मा ९७ लाख ९ हजार ९ सय २३ रुपैयाँ बराबरको राहत सामग्री वितरण भएको महाशाखाका अधिकृत रोकायाले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्