आज सात वटै प्रदेशमा वर्षा, दिउँसो र राति पनि निरन्तर

होस्ट खबर ८ असार २०८०, शुक्रबार
2 Min Read
Aa
फाइल फोटो

सुर्खेत : देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मोसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसैबीच, झापा तथा आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । झापाको केचना लगायत नेपाल भारत सीमा आसपासका क्षेत्रमा भारी वर्षा भएको नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।

नवलपरासी, रूपन्देही, पाल्पा, कैलाली र आसपास केही स्थानमा पनि भारी वर्षा भएको छ । उक्त स्थान आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनुको साथै होचा स्थानमा डुवान हुन सक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । आउँदो ६ घण्टा सतर्क रहन आग्रहसमेत गरिएको छ ।

तिनाउ नदी तटिय क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि नेपाल फ्ल्ड अलर्टको आग्रह छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्