राहदानीको मूल्य घट्यो, बनाउन अब कति रुपैयाँ लाग्छ ?

होस्ट खबर २ असार २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं : राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागु हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन् ।

उनले भनिन्, ‘सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा पाँच हजार लाग्ने र राहदानी विभागबाट लिन चाहेमा १२ हजार लाग्नेछ ।’ हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार तथा जिल्लाबाट लिन चाहेमा १० हजार लाग्नेसमेत प्रवक्ता सापकोटाले जानकारी दिइन् ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ ९समय–समयमा विदेश गइरहने० लाई ६६ पृष्ठको राहदानी १० हजारमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।

राहदानी विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ ।

शुक्रबार पत्राचार गरिएको उक्त परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गते आइतबारदेखि संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्