गणतन्त्र दिवसको दिन रेशम चौधरीलाई रिहा गर्ने तयारी !

होस्ट खबर ९ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं : टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले रिहा गर्ने तयारी थालेको खुलासा भएको छ । केही दिन अघिमात्रै सर्वोच्च अदालतले उनको जन्मकैदको फैसलालाई सदर गरेको थियो ।

चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ सोमबार राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको दावी गरिएको छ ।

चौधरीको कैद माफी मिनाहा गरी रिहाइका लागि प्रक्रिया अगाडि बढिसकेको स्रोतको दावी छ । त्यसका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशम चौधरीले महान्यायाधिवक्ता कार्यालयमा पत्राचारसमेत गरिसकेको बताइन्छ ।

डिल्लीबजार कारागारका जेलर रोमबहादुर महतले रेशम चौधरीको मुद्दा अन्तिम फैसला भएको हो कि होइन भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको स्वीकारेका छन् ।

रेशम चौधरीले आफ्नो मुद्दामा अन्तिम फैसला भएको हो कि होइन भन्ने कुरा जान्नका लागि कारागार कार्यालयमार्फत महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएको बताइन्छ ।

कुनै पनि कैदी–बन्दीलाई आफ्नो मुद्दामा अन्तिम फैसला भएको हो कि होइन भनेर जान्ने हक हुन्छ । चौधरीले पनि सोही हकअन्तर्गत बुझ्न खोज्दा कारागार कार्यालयले महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरेको हो । यद्यपि, कैद माफी मिनाहाका लागि पत्राचार गरिएको कुरामा भने कारागार कार्यलय मौन छ ।

महान्यायाधिवक्ता कार्यालयले पनि उनको मुद्दा अन्तिम भइसकेको जवाफ कारागारमार्फत रेशम चौधरीलाई पठाइसकेको छ । महान्यायाधिवक्ता कार्यालयबाट प्राप्त भएको पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतको भनाइ छ ।

गृह मन्त्रालयबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषद्मा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिने तयारी भइरहेको बताइन्छ ।

संविधानको मस्यौदा जारी भएपछि २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित सात जनाको मृत्यु भएको थियो । त्यही घटनाको मुख्य योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो । उक्त फैसलालाई उच्च अदालत दिपायल हुँदै सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array