नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

होस्ट खबर २२ बैशाख २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।

पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार हुँदा गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रेमकुमार राईको पनि नाम आएको छ, बयानका आधारमा प्रहरीले थप प्रमाणको खोजी गरिरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए ।

प्रहरीले बुधबार मात्रै गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेलाईसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए ।

काठमाडौं जिल्ला अदालतमार्फत बुधबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी बुझिसकेको छ । उनी पक्राउ परिसकेका छैनन् ।

यसैगरी, हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भइरहेका बेला काठमाडौं प्रहरीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी बुधबार राति नै बुटवल आएको र बुटवल आएपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका एक आरोपी सागर राईले रायमाझीलाई आफूले नगद बुझाएको बयान प्रहरीसमक्ष दिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०÷११ जना व्यक्ति प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताए ।

‘नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०÷११ जना प्रहरीको निगरानीमा छन्, पक्राउ परेकाहरूको बयान र पीडितको जाहेरीका आधारमा अन्य व्यक्तिको पनि संलग्नताबारेमा खुल्दै जाला,’ काठमाडौं प्रहरी प्रमुख कार्कीले भने ।

भुटानी शरणार्थी प्रमाणीकरणका लागि छुटेका व्यक्तिको विवरण तयार गर्ने क्रममा प्रतिवेदन बनाउँदै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको थियो । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्