महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै देशभर प्रदर्शन

होस्ट खबर १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीवाट ऐक्यबद्धता जनाउन सुरु भएको छ । हिजो साँझ नेपालगन्जस्थित त्रिभुवन चौकमा पनि स्वतः स्फुर्त रुपमा प्रदर्शन भएको छ ।

हिजै साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रर्दशन गरेका छन् । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवारदेखि धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीवाट क्रमशः प्रदर्शन सुरु गरेका हुन् ।

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनवारे जानकारी दिँदै भनेका छन, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने प्रदर्शनकारीहरुले उल्लेख गरेका छन् । प्ले कार्डसहित स्वस्फुर्त रुपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरुले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्