वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

होस्ट खबर १७ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौ : नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार तीलबिक्रम नेम्वाङ (बैरागी काइँला)लाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन् ।

यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले देशको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताएका छन्  । “राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो”, उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ थियो ।

देशमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए । “देश र जनतालाई आशा जगाउने गरी मुलुक चलाउन सकेनौँ भने धेरै ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई साकार पार्न कुनै पनि त्रुटि हुँदैन”, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेका र उनले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको स्मरण गराएका हुन्  । उनले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुईखाले प्रवृत्ति देखिएको बताए । लेखकले राजनीतिक परिवर्तनलाई थप सशक्त बनाएको प्रमाणित भइसकेको भन्दै उहाँले लेखकले जनमत निर्माण गर्नुपर्ने बताएका हुन् ।

सम्मानित व्यक्तित्व काइँलाले दिवसका अवसर पारेर लेखकलाई पुरस्कृत गर्न सुरु गरिनु सराहनीय काम रहेको बताएका छन् । लेखक सदाको प्रतिपक्ष हुनुपर्नेमा जोड दिँदै उहाँले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री खड्काले सङ्घले प्रकाशन गरेको ‘लेखक’ पुस्तकको विमोचन गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array