अर्थतन्त्रप्रति अरू त्रसित राष्ट्र बैंक ढुक्क

होस्ट खबर ३० चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ। निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन्। तर राष्ट्र बैंकले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ।

अर्थतन्त्र समस्यामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा। प्रकाशशरण महतले विभिन्न पक्षसँग छलफल गरी सुधारका लागि पहल गर्ने आश्वासन दिँदै आएका छन्।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए। ‘आर्थिक अवस्थाका हिसाबले अहिले निकै चुनौतीपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सरकारको सम्पूर्ण तागत लगाएर अर्थतन्त्रलाई लयमा ल्याउछौं।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थतन्त्र समस्यामा छ भन्ने बुझिन्छ।

प्रधानमन्त्रीले अर्थतन्त्रका कारण दबाबको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ढुक्क देखिन्छन्। अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भई प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने गभर्नर अधिकारी बताउँछन्।

विगतका वर्षमा अर्थतन्त्र योभन्दा कठिन अवस्थामा रहेकाले अहिले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको तर्क छ। ‘गत वर्षको तथ्यांक कमजोर हुँदा निद्रा नै लाग्दैनथ्यो,’ अधिकारीले भने, ‘अहिलेको स्थितिमा धेरै सुधार भएको छ।’

चालु खाता स्थिति १२।८ प्रतिशत नकारात्मकबाट बाउन्स ब्याक भएर सहज अवस्थामा आएको उनले बताए। उनका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा आइपुग्दा अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छन्।

अर्थतन्त्रमा सकारात्मक सुधार भए पनि जनताले महसुस हुनेगरी सुधार हुन नसकेको कुरा भने उनले स्वीकारे। ‘अर्थतन्त्रका सूचक सकारात्मक छन्’, उनले भने, ‘समाजले महसुस गर्न पाएको छैन।’

ब्याजदर धेरै भयो भनेर निजी क्षेत्र छटपटारहेको अवस्थामा बैंकर्स संघले ब्याजदर घटाएको छ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्