को हुन् कर्णालीबाट पहिलो पटक उपप्रधानमन्त्री बनेका पूर्ण बहादुर खड्का ?

होस्ट खबर १८ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

सुर्खेत : शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, नेकपा एस, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई लिएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा पूर्ण बहादुर खड्का उपप्रधान एवं रक्षा मन्त्री बनेका हुन् । खड्काले सरकारमा दोस्रो वरीयता पाएका छन् । उपप्रधानमन्त्री जस्तो उच्च तथा गरिमामय पदमा पुग्ने समग्र कर्णालीबाट काँग्रेस उपसभापति खड्का भने पहिलो व्यक्ति हुन् l

बि.सं. २०११ सालमा सुर्खेतमा जन्मिएका खड्काले २०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । खड्का २०३४ सालमा सुर्खेत काँग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे । उनी नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भए ।

बहुदल र निर्दल बीचको चुनावको समयमा काँग्रेसले चुनावमा भाग लिने निणर्य गरेको समयमा खड्काले २०३६ सालमा वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए तर उनलाई पञ्चायतको सर्मथन गर्न भनेर राजाले दवाव दिए । राजाले दिएको दवाव अस्विकार गर्दा जिल्ला अदालतले उनी मेयर भएको ६ महिनामै उनको पद जिल्ला अदालत सुर्खेतले बर्खास्त गरिदिएको थियो । विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्षतर्फबाट चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समानुपातिक सांसद बने । २०७० सालमा भएको चुनाव जितेका खड्का २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका खड्का राज्य संचालनमा समेत अब्बल मानिन्छन् । खड्कासँग गृह, युवा तथा खेलकुद (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ ।

खड्काले १०औं महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जनामात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । ०५९ मा काँग्रेस विभाजन भएपछि बनेको काँग्रेस प्रजातान्त्रिकमा उनी केन्द्रीय सदस्य बने ।

काँग्रेस प्रजातान्त्रिकको ११औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । ०६४ मा काँग्रेस र काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछि भएको १२औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए । १३औं महाधिवेशनमा उनी महामन्त्रीमा मनोनित भएका थिए । १४औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बन्न सफल भएका छन् ।

उपप्रधानमन्त्री खड्का कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् । गत मंसिरमा भएको निर्वाचनमा उनी सुर्खेत क्षेत्र नम्बर –१ बाट प्रतिनिधि सभामा भारी मतले निर्वाचित भएका थिए । सादा जीवन उच्च विचार भएका खड्का विकास प्रेमी नेताका रूपमा पनि चिनीने गर्छन् l

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्