बोकालाई पनि संगिनी सुई !

होस्ट खबर १४ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई बोका, पाठालाई पनि लगाइन्छ भन्दा । बच्चाको जन्मान्तर कम गर्नका लागि महिलाले प्रयोग गर्ने तीन महिने यो सुई गुल्मीका किसानहरुले भने बोका, पाठालाई लगाइदिने गरेको पाइएको छ ।

तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि जिल्लाको धुर्कोट गाउँपालिकाका किसानहरुले बोका, पाठामा यस्तो सुईको प्रयोग गर्न थालेको खुलासा भएको हो । तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुई प्रयोग नगर्न गाउँपालिकाले सोमबार सूचना नै जारी गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

‘संगिनी सुई लगाएका महिलाहरु मोटो हुने गर्छन् । खसीलाई पनि सुई लगाएपछि हर्मोनमा वृद्धि भएर छिट्टै मोटो हुने भएकाले सुई लगाएको देखियो,’ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक श्यामबहादुर कार्कीले भने ।

गाउँपालिकाले जारी गरेको सूचनामा आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजिम सजाय हुने भन्दै संगिनी सुई लगाउन तत्काल रोक्न आग्रह गरिएको छ । संगिनी सुई एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array