वैदेशिक रोजगारी: महिनामा ६१२ को मृत्यु ,आर्थिक सहायता बढाउने तयारी

होस्ट खबर १० चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका आफन्त र अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिकले पाउँदै आएको आर्थिक सहायताबापतको रकम बढाउने तयारी भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हाल उपलब्ध गराउँदै आएको उक्त रकम समयसापेक्ष नभएको भन्दै यसलाई बढाउन बोर्डले आवश्यक तयारी थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एक कार्यक्रममा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको भवितव्यमा परी मृत्यु भएमा प्राप्त गर्ने कल्याणकारी सुविधामा समसामयिक पुनरवलोकन गरिने बताएका थिए।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका आफन्त वा अङ्गभङ्ग वा बिरामी भएर फर्किएका श्रमिकले हाल प्राप्त गर्ने रकम कम भएकाले बढाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

अहिले भएको व्यवस्था संशोधन गरी आवश्यक कानुनी प्रक्रियामा रहेको जानकारी दिँदै बोर्डका निर्देशकसमेत रहनुभएका पौडेलले यसका लागि केही समय लाग्नसक्ने बताए ।

बोर्डका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा हकवालाले सात लाख रुपियाँ आर्थिक सहायता पाउँछन् । यो रकम वैदेशिक रोजगार कल्याणकारी कोषबाट बोर्डले प्रदान गर्छ । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिक वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग भएर वा बिरामी भएर फर्कंदा प्रदान गर्ने रकममा पनि वृद्धि गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये दुई वर्षसम्मको श्रम स्वीकृति लिँदा प्रत्येक व्यक्तिले एक हजार पाँच सय रुपियाँ र दुई वर्षभन्दा बढी पाँच वर्षसम्मको दुई हजार पाँच सय रुपियाँ जम्मा गर्नुपर्छ ।

बोर्डका अनुसार चालू आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगारीको क्रममा ६१२ नेपालीको ज्यान गएको छ । यो वैदेशिक रोजगार बोर्डमा प्राप्त भएको तथ्याङ्क मात्रै हो । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array