आज देखि ‘कर्णाली उत्सव’को चौथो संस्करण सुरु हुदै

होस्ट खबर ५ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ ।

उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक संस्थाका संयोजक कमल लम्सालले सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा ‘कर्णाली उत्सव’ शृङ्खला भइसकेको बताए ।

कर्णाली उत्सवको सचिवालयका सदस्य माधवप्रसाद चौलागाईले तेस्रो संस्करणसम्म सम्पन्न भएको उत्सवले अमूर्त उपलब्धि प्राप्त गरेको र यसको प्रभाव विस्तारै देखिने बताए ।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए । उनका अनुसार आज बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रित अतिथिलाई स्वागत गर्नेछन् ।

उद्घाटनलगत्तै सुरु हुने पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको छ ।

तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि भने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा विद्वत प्रवचन दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

आजको पहिलो सत्रमा सञ्चालन हुने ‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह वक्ता रहेका छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश जना वक्ताले भाग लिनेछन् ।

पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझ ५ : ४५ मा भने साङ्गीतिक साँझ गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्