नजिकिँदै नयाँ राष्ट्रपतिको निर्वाचन: माओवादी केन्द्रमा दुई धार

होस्ट खबर ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन् । माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ ।

माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन् । जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ ।

‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ । राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । राष्ट्रपति भएपछि एक दललाई होइन, सबै दलको भावना समेट्नुपर्छ भन्ने आवाज आएको छ।

त्यसले गर्दा राजनीतिक दलभन्दा माथिको व्यक्तिलाई समर्थन गरेर जान सकिन्छ भन्ने धारणा पनि आएको छ । अर्थात्, राष्ट्रपतिबारे दुवै कोणबाट छलफल हुँदैछ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने । ती नेताका अनुसार सबैको सुझाव लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेका हुन् ।

माओवादीका स्थायी कमिटी सदस्यहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन् । नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्