नयाँ मुख्यमन्त्रीलाई पनि विश्वासको मत दिँदैनौं, चुनावमा जान तयार छौंः लालवीर चौधरी

होस्ट खबर २७ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेता एवं सांसद लालवीर चौधरीले आफ्ना माग र मुद्दा सम्बोधन नभए सुदूरपश्चिम प्रदेशको नयाँ सरकारलाई पनि विश्वासको मत दिन नसक्ने बताएका छन् ।
‘हिजो हाम्रो समर्थनमा राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँहरुले थारु समुदायको नयाँ वर्षको खुसीयालीमा रेशम चौधरीलगायत सात जेलबन्दीलाई रिहा गर्छौं भन्नुभएको थियो । हामी कुरेर बस्यौं । प्रधानमन्त्री, सभामुख, उपसभामुखलाई मत दिएर जितायौं । तर हाम्रो माग अघि नबढेपछि बाध्य भएर रावललाई विश्वासको मत दिन सकेनौं,’ चौधरीले भने ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहको नेतृत्वमा गठित नयाँ सरकारमा सामेल हुने कि नहुने भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई अझै पनि विश्वास छ, उहाँहरुले निकास दिनुहुन्छ । निकास दिनुभएन भने कमल शाहले पनि विश्वासको मत बिलकुलै पाउनुहुन्न । हाम्रो नेता नै जेलमा छ भने हामी संघ या प्रदेशमा मन्त्री र सांसद भएर के काम हुन्छ रु फेरि पनि हामी त्यही गर्छौं ।’

उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायत कांग्रेस नेताहरुले पनि रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएको पनि बताए । उनले भने, ‘हो, शेरबहादुर देउवाहरुले पनि हामा लागि लड्छौं, सरकारसँग भन्छौं भन्नुभएको छ । २०७२ को राजनीतिक घटनालाई व्यक्तिगत बनाएर ५८ माथि मुद्दा चलाइएको छ । ३१ जना फरार सूचीमा हुनुहुन्छ, २० जनाले सफाइ पाउनुभएको छ । सात जना जेलभित्र हुनुहुन्छ । अब एक महिनाभित्रै निकाल्नेभन्दा पनि हाम्रा जेलबन्दीहरुको रिहाइको ग्यारेन्टी राज्यले दिनुपर्छ । अन्यथा हामी कठोर रुपमा अघि बढ्छौं ।’

नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दा समाधान नभए कमल शाह सरकारले पनि विश्वासको मत नपाउने र निर्वाचनमा जाने चौधरीले बताए । उनले भने, ‘रेशमलगायत सात जनालाई जेलबन्दी जेलभित्र कोचिरहनुहुन्छ भने हामी कुनै पनि हालतमा विश्वासको मत दिन सक्दैनौं । चुनावमा जान पनि जनता तयार छौं। हामीलाई जनताले नै न्याय गर्ने हो । उहाँहरुले निरन्तर खबरदारी गरिरहनुभएको छ ।’ आगामी राष्ट्रपति निर्वाचनमा भने आन्तरिक रुपमा सल्लाह गरेर एक ठाउँमा उभिने चौधरीले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्