यस वर्ष हिउँदे वर्षाको सम्भावना न्यून

होस्ट खबर १३ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : यो वर्षको जाडो याममा हालसम्म उल्लेखनीय रूपमा हिउँदे वर्षा भएको छैन । केही दिनअघि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भए पनि त्यसबाहेकका प्रदेशमा यो जाडो याममा वर्षा भएको छैन ।

केही दिन प्रदेश–१ का उच्च पहाड र हिमाली क्षेत्रमा हल्का हिमपात भएको थियो । अब वर्षाको सम्भावना निकै कम रहेको मौसमविद् बरुण पौडेल बताउँछन् । उनका अनुसार यो जाडो याममा वर्षा हुने सम्भावना निकै कम हुँदै गएको छ ।

‘आज माघ १३ गते भइसक्यो, अब जाडो क्रमशः घट्दै जाने हो । वर्षा हुने सम्भावना निकै कम हुँदै गएको छ,’ बरुण भन्छन्, ‘यद्यपि, माघ महिनाभर जाडो रहने भएकाले मौसमी प्रणाली परिवर्तन भए वर्षा हुनसक्छ । तर, अब धेरै वर्षा हुने सम्भावना न्यून हुँदै गएको छ ।’

गत वर्ष औषतभन्दा बढी वर्षा भएको थियो । यो वर्ष औषतभन्दा कम वर्षा भएको उनको भनाइ छ । ‘हामी यो जाडो यामको सुरुआतमै यो वर्षा औषतभन्दा कम वर्षा हुन्छ भनेका थियौँ । कहिले कम र कहिले धेरै वर्षा हुनु वायुमण्डलीय नेचुरल प्रोसेस हो,’ बरुण भन्छन् ।

वायुमा जलवाष्प कम हुँदा वर्षा नहुने मौसमविद्हरू बताउँछन् । दिउँसोको समयमा १४/१५ डिग्री सेल्सियससम्म झरेको काठमाडौंको तापक्रम बढेर अहिले २१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । त्यसैले अब जाडो कम हुँदै जाने उनले जानकारी दिए । काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array