जन्म गाउँ रुपामा पाइलट केसीको सालिक निर्माण गरिने

होस्ट खबर ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् ।

रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका ज्येष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँ नै शोकमा डुबेको अध्यक्ष ओझाले बताए ।

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नेपाल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरमा रहेको इन्डियन एअरलाइन्स र पछिल्लो समय यती एअरलायन्समा आबद्ध क्याप्टेन केसीको निधनले रुपा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिए । गाउँपालिकाको बैठकले हिजो साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ ।

साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णयसमेत गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्