जुवा खेलाउने नयाँ माध्यम ‘टिकटक’

होस्ट खबर २९ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : उपत्यकामा जुवाडेले प्रहरीको आँखा छल्न सामाजिक सञ्जालको माध्यमबाट जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ । पछिल्लो समयमा भने ‘टिकटक लाइभ’मार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र ई–सेवाल गायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई टिकटकमार्फत रकमको बाजी राखी जुवा खेलाउने गरेको सूचना आएको थियो ।

त्यही सूचनाको आधारमा कार्यालयले तत्काल टोली बनाई ती गतिविधिको निगरानी थाल्यो । प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जना फेला पारेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

प्रहरीले दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सुर्यविनायक बस्ने २७ वर्षका कपिल गिरी, भक्तपुरको थिमि बस्ने २९ वर्षका प्रेम कठायत र कैलालीका डिल्लीराज अवस्थीलाई रंगेहात फेला पारी पक्राउ गरी कारवाही थालेको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा थप कारवाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका मध्य ऋषिप्रकाश योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुईवटा ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर २८ लाख ७३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ ।

कपिल गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई–सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रुपैयाँ कारोबार गरेका छन् भने प्रेम कडायत र डिल्ली अवस्थीले प्रेम नामक टिकटकमार्फत ई–सेवा वालेटमा एक महिना ६ दिनको अवधिमा जुवा खेलाएर ९३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ ।

उनीहरूको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्