पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग, माग पूरा नगर्न प्रधानमन्त्री दाहाललाई दबाब

होस्ट खबर २० पुष २०७९, बुधबार
4 Min Read
Aa

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग अघि सारेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राप्रपाले उक्त माग अघि सारेपछि पार्टीभित्रैबाट पनि प्रधानमन्त्री दाहालमाथी दबाब बढेको छ ।

प्रधानमन्त्री दाहालले राप्रपालाई मन्त्रिपरिषदमा सहभागी गराउँदा राप्रपाले राखेको प्रमुख शर्तमध्येको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिनु पनि हो । राप्रपाको उक्त शर्तप्रति प्रधानमन्त्री दाहाल सकारात्मक बनेको चर्चा छ । तर, उनकै पार्टीका प्रभावशाली नेताहरुले भने कुनैपनि हालतमा पुष २७ गते सार्वजनिक विदा दिन नहुने अडान राखेका छन् । सरकार सञ्चालनमा सहजता खोजेका दाहालले राप्रपाको दरिलो साथ पनि खोजेका छन् । तर, पार्टीभित्रैबाट उनीमाथि राप्रपाको उक्त माग पूरा नगर्न दबाब छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा हाल सरकारमा सहभागी नभएपनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ। आफ्नो पार्टीले अघि सारेका मागप्रति सरकार सकारात्मक बने पुष २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सकिने अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति बाहिर आएको छ ।

पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक बिदा दिनुपर्ने राप्रपाको अडानका बीच माओवादी नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई बिदा दिन नहुने भन्दै दबाब दिन थालेका छन् । गणतन्त्रमाथि प्रहार हुने भन्दै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकताका दिवस मानेर पुस २७ गते बिदा दिन नहुने माओवादी नेताहरुको धारणा छ ।

केही दिनभित्रै सरकारले न्यूनतम् साझा कार्यक्रम ल्याउने र त्यसपछि सरकारमा सहभागी हुने तयारीमा रहेको राप्रपाले राष्ट्रिय एकता दिवसलाई हतियारको रुपमा प्रयोग गर्दै निरन्तर सरकारमाथि दबाब जारी राखेको छ। राप्रपाले पृथ्वीनारायण शाहको तस्वीर अंकित नोट सार्वजनिक गर्नसमेत प्रधानमन्त्री दाहालसमक्ष माग गरिरहेको छ ।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा दौरा सुरुवाल लगाएको विषयलाई राप्रपाको मागसँग जोडेर माओवादी नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यसअघि दुई पटक प्रधानमन्त्री नियुक्त हुँदा टाई सूटमा भादगाउँले टोपी लगाएर शपथ ग्रहण गरेका दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिएका थिए ।

माओवादीले दौरा सुरुवाल र कोटलाई सामन्ती पोशाक भन्दै नकारात्मक दृष्टिकोण राख्दै आएको थियो । स्वयं प्रधानमन्त्री दाहालले समेत यसअघि राजनीतिक कारणले नै आफूले दौरा नलगाएको बताउदै आएकामा यसपटक एकाएक दौरा सुरुवालमा देखिएपछि माओवादीनेताहरु थप शसंकित बनेका हुन् ।

राप्रपाको मागको बिषयमा सत्ता समर्थक दलले यो विषयलाई प्रतिष्ठाको मुद्दा बनाएपछि दाहाल नेतृत्वको सरकारमाथि नैतिक दबाब सिर्जना भएको छ । राजतन्त्रको विरोधी माओवादी नेतृत्वको सरकारले यस विषयलाई कुन रुपमा लिने हो भन्नेबारे समेत सबैतिर चासोको विषय बनेको छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए यहि योगदानको कदर गर्दै राप्रपाले पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको माग गर्दै आएको छ ।

राजतन्त्रप्रति आस्था राख्ने र यो दिवस मनाउन चाहाने ठूलो समुदाय रहेकाले राष्ट्र निर्माताको सम्मान गर्न राज्यले उपेक्षा गर्न नहुने राप्रपाको अडान छ । नेपाली सेनाले पुस २७ गतेलाई पृथ्वी जयन्तीको रुपमा मनाउँदै आएको छ । यसदिन राष्ट्रप्रमुखले समेत पृथ्वीनारायणको शालिकामा माल्यापर्ण गर्ने परम्परा छ ।

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदैन: माओवादी नेता

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array