सहज छैन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको खर्च धान्न

होस्ट खबर २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : पोखराको पुरानो विमानस्थलले आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ५९ लाख रूपैयाँ आम्दानी गर्‍यो । कोरोना संक्रमण कमजोर भएपछि उडान थपिँदा भएको यो आम्दानी सर्वाधिक हो। तर पुरानो विमानस्थलबाट भइरहेको उडान जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन थालेको छ ।

पुरानो विमानस्थलले गरेको यो आम्दानीमा ‘स्टल’ ९छोटो धावनमार्गमा हुने उडान र अवतरण० एयरक्राफ्टसहित हेलिकोप्टर र अल्ट्रालाइटले तिरेको शुल्क पनि समेटिएको छ । तर, स्टल एयरक्राफ्ट, हेलिकोप्टर र अल्ट्रालाइट अब पनि पुरानै विमानस्थलबाटै चालु हुनेछन् ।

जनवरी १ पछि आन्तरिकतर्फ ठुला आकारका जहाज उडान र अवतरण अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको छ । स्टल एयरक्राफ्ट, अल्ट्रालाइट र हेलिकोप्टरले तिरेको शुल्कको हिस्सा विमानस्थलको आम्दानीको करिब पाँच प्रतिशत हुन्थ्योे। नयाँ विमानस्थलले खर्च धान्न आम्दानी बढाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ । तर, अब दुवै विमानस्थलको आम्दानी एकैठाउँ मिसिने भएकाले खासै फरक नपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अधिकारी बताउँछन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन् । रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ । आजको नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्