एक वर्षमै छ लाख पर्यटक भित्रिए

होस्ट खबर १८ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन् । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले महामारीपछि तुलनात्मक रूपमा पर्यटक आगमनमा सुधार हुँदै गएकाले पर्यटन क्षेत्र थप चलायमान बन्दै गएको बताए । “नेपालमा पर्यटनको दोस्रो ठूलो बजार मानिएको चीनबाट पर्यटक आउन नसक्दा एक लाख १५ हजारको हाराहारीमा चिनियाँ पर्यटक घटे पनि गत वर्षको तुलनामा ६५ प्रतिशत सुधार भएको छ,” उनले भने ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५ जना विदेशी नेपाल भित्रिएका थिए । त्यस्तै फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६३५ जना र डिसेम्बरमा ६७ हजार ९२३ पर्यटक नेपाल भित्रिएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array