पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

होस्ट खबर १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाउने तयारी छ । विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रहसहित आज बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । उद्घाटनका दिन आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विमानस्थलको उद्घाटनको दिन आजदेखि नै सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् । यसअघि बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत गरिसकेका छन् ।

२०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि २०७३ सालमा विमानस्थलको शिलान्यास गरेर २०७४ सालदेखि निर्माण सुरु भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array