एमडीएमएस स्थगित भन्सार पनि सहज

होस्ट खबर १६ पुष २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं : मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत तत्काललाई यो व्यवस्था लागू नगराउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको यो निर्देशनसँगै मोबाइल दर्ताका लागि स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालन पनि स्थगित भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेको थियो । मोबाइलको अवैध व्यापार बढेको र चोरी अथवा हराएको अवस्थामा फेला पार्न सहज हुने भन्दै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याउने तयारीमा प्राधिकरण थियो ।

यो प्रणाली लागू भएपछि विदेशबाट आउने हरेकले नेपालमा मोबाइल अनिवार्य रूपमा दर्ता गर्नुपर्ने प्रावधान राखिएको थियो । दर्ताका लागि व्यक्तिगत मोबाइलका लागि पनि भन्सारमार्फत प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै अर्थ मन्त्रालयले जारी गरेको निजी गुन्टा, झिटी भारीसम्बन्धी व्यवस्थाले एकभन्दा बढी मोबाइल ल्याउँदा त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था गरेको थियो । यद्यपि हालसम्म एउटाबाहेक अर्को मोबाइल ल्याएको हकमा लचकता अपनाएर भन्सार छुट दिने गरिएको थियो ।

शुक्रबारदेखि नै यो व्यवस्थामा कडाइ गर्दै एउटाबाहेक अर्को मोबाइल ल्याएको अवस्थामा त्यसमा ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने तयारी गरिएको थियो ।

यस्तो व्यवस्थाले उपहारका रूपमा ल्याइने फोनमा अनावश्यक कर थपिने र दर्ताको व्यवस्था पनि झन्झटिलो हुने भन्दै सर्वसाधारणबाट आलोचना भएको थियो । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array