लामिछानेले दोषी पत्ता लगाउलान् ?

होस्ट खबर १४ पुष २०७९, बिहीबार
2 Min Read
Aa

कञ्चनपुर : महेन्द्रनगरस्थित कञ्चनपुर जिल्ला समन्वय समितिको कार्यालयअघिको चिया पसलमा मंगलबार केही मानिस चिया पिइरहेका थिए । सोही समयमा दिलीपसिंह बिष्ट पनि चिया पसलमा पुगे ।

चिया पिइरहेका मध्ये एकले ‘रवि लामिछाने गृहमन्त्री भइसके, अब जेल जाने तिम्रा दिन आइहाले’ भनेर उनलाई हाँसोको पात्र बनाए । यो एक संयोग मात्रै हो ।

लामिछानेले गृहमन्त्रीमा नियुक्त भएलगत्तै बलात्कारपछि गरी हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिलाउने घोषणा गरेका कारण चार वर्षपहिलेको यो घटनाले फेरि देशभरि चर्चा पाएको छ । कञ्चनपुर र कैलालीमा भने चिया पसलदेखि चोक, चौतारासम्म पुनः बिष्टलाई नै दोषी देखाएर पक्राउ गर्ने चर्चा सुनिन थालेको छ ।

‘रवि लामिछाने गृहमन्त्री भएपछि महेन्द्रनगरका चिया पसलदेखि चोकचोकमा दिलीपसिंह बिष्टलाई दोषी देखाउँदै जेल हाल्छन् भन्ने चर्चा चलिरहेको सुनिन्छ,’ युवा नेता विष्णु अवस्थीले भने । पत्रकारका रूपमा रवि लामिछानेले न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट निर्मला पन्त हत्या प्रकरणमा दिलीपसिंह बिष्ट नै दोषी हुन सक्ने ठोकुवा गर्दै त्यससम्बन्धी सामग्री प्रसारण गरेका थिए ।

प्रहरी, न्यायायलले दोषी करार गरिनसकेको अवस्थामा लामिछानेले बिष्टलाई दोषी करार गर्न खोजेको भन्दै स्थानीय बासिन्दाले त्यतिबेला नै लामिछानेविरुद्ध असन्तुष्टि पोखेका थिए । घटनाको सुरुमा भने लामिछाने आफैं महेन्द्रनगर आएर मानसिक रूपमा बिरामी रहेका बिष्ट दोषी हुन नसक्ने भन्ने सामग्री टेलिभिजनबाट प्रसारण गरेका थिए ।

तर आठजना प्रहरीविरुद्ध घटनाको प्रमाण नष्ट तथा बिष्टलाई यातना दिएको कसुरविरुद्ध अदालतमा मुद्दा परेपछि भने उनै लामिछानेले धारणा बदल्दै बिष्ट नै दोषी भएको सामग्री टेलिभिजनबाट प्रसारण गरेका थिए । बिष्टलाई निर्दोष भनेर वकालत गर्ने स्थानीय पत्रकार खेम भण्डारीलाई समेत लामिछानेले न्युज २४ टेलिभिजनको काठमाडौंस्थित स्टुडियोमै बोलाएर ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा बहस गरेका थिए । आजको नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array