शपथ लिइसकेका गुरुङ र कोइरीलाई संसद प्रवेशमा रोक

होस्ट खबर १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्।

प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले मुद्दाको छिनोफानो नहुन्जेल बैठकमा भाग लिन नपाउने भएका हुन्। उनीहरूले यही पुस ७ गते सांसद पदको शपथ भने लिइसकेका छन्।

भ्रष्टाचारविरुद्धको मुद्दा लागेका गुरुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पुस ८ गतेको पत्रबमोजिम संसद् सचिवालयले निलम्बनमा राखेको छ। त्यस्तै प्रहरी प्रधान कार्यालयको पुस ७ गतेको पत्रबमोजिम हत्या आरोपमा फरार सूचीमा रहेका कोइरीलाई संसद् सचिवालयले संसद् बैठक प्रवेशमा रोक लगाउने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यको शपथको सूचनालाई आधार मानेर उनीहरूले संसद् भवन नयाँ बानेश्वर पुगेर शपथ लिएका थिए। शपथ लिए पनि मुद्दाको टुंगो नलागेसम्म सांसदद्वय गुरुङ र कोइरीलाई संसद् बैठकमा प्रवेश गर्न रोक लगाउने जानकारी संसद् सचिवालयका एक अधिकारीले दिए। संसद् सचिवालयले मंगलबार सूचना जारी गरी पुस ८ गतेदेखि नै सांसद गुरुङ निलम्बनमा परेको जनाएको छ।

त्यस्तै हत्या आरोपमा फरार सूचीमा रहेका सांसद कोइरीलाई प्रहरी प्रधान कार्यालयको पत्रबमोजिम संसद् बैठकमा सहभागी हुनबाट रोक लगाइने संसद् सचिवालयले जनाएको छ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्