मुख्य पदमा कम्युनिस्टकै बर्चस्व

होस्ट खबर १२ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहुँदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए ।

नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी र एकीकृत समाजवादी । अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा सरकार आएको छ ।

२०७९ को आम निर्वाचनमा एमाले एउटा गठबन्धनको नेतृत्व गर्दै अगाडी बढेको थियो भने माओवादी र एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी थियो । एमाले र माओवादीसहितका दलले मिलेर सरकार गठन गरे पनि एकीकृत समाजवादी अहिले ‘पर्ख र हेर’को अवस्थामा छ ।

प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसले समर्थन नगरेपछि एकाएक एमाले र माओवादीको मिलन हुन गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई समर्थन गरी साना दललाई समेत मिलाएर १६९ सांसदको समर्थनमा प्रचण्ड सरकारको नेतृत्व गर्न सफल भए । वैशाखमा भएको स्थानीय निर्वाचनमा कम्युनिस्ट पार्टीहरू एउटै गठबन्धनमा नहुँदा त्यसको फाइदा कांग्रेसले उठायो ।

निर्वाचनसँगै संघीय सरकार मात्रै गठन हुने होइन । अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको पनि निर्वाचन हँुदै छ । प्रदेश सरकार गठन, प्रदेश प्रमुख नियुक्ति, संवैधानिक नियुक्तिदेखि राजदूत नियुक्तिबाट कम्युनिस्ट पार्टीले बढी लाभ लिने अवस्थामा पुगेका छन् । एमाले र माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन नबनेको भए यी महत्वपूर्ण पदमा गैरकम्युनिस्टहरू हाबी हुने निश्चित रहेको आजको राजधानी दैनिकमा खवर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्