नेपथ्यको सुमधुर संगीतले गुन्जियो सुर्खेतको खुल्लामञ्च

होस्ट खबर ७ पुष २०७९, बिहीबार
3 Min Read
Aa
तस्बिरहरू : दिपित राज र नेपालय

सुर्खेत : ‘मानवताका लागि संगीत’ अभियानमा हिँडेको नेपथ्यको सातौँ प्रदर्शन सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। बुधबार बेलुकीबाट सुरु भएको प्रदर्शनमा ब्याण्डले पहिलो गीतका रूपमा ‘आँगनै भरि’ पस्किएको थियो।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरू पछि अर्को सर्वकालीन् हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरु गरेका थिए। ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढेको थियो।

कर्णाली प्रदेशको राजधानी शहरमा नेपथ्यले १६ वर्षपछि प्रस्तुति दिएको थियो। यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो। त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा कन्सर्ट भएको थियो।

वीरेन्द्रनगरको खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए। ब्यापक उपस्थितिले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो।

‘यति लामो अन्तरालपछि नेपथ्य यहाँ आएको छ,’ गायक अमृत गुरुङले भने, ‘तपाईंहरूले यसरी माया गर्नुहुन्छ भन्ने थाहा भइदिए अलि पहिल्यै आउने थियौँ।’ नेपथ्यले कन्सर्ट अवधिभर पुराना गीतहरू ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ लगायत प्रस्तु गरेको थियो। यस्तै लाहुरेहरूबाट आएको गीत ‘नैनाताल’ पनि नेपथ्यले सुनाएको थियो।

‘यहाँ माथिका पहाडहरूबाट मानिस सुर्खेत आउँछन् र सुर्खेतबाट नेपालगञ्ज हुँदै भारत जान्छन्। यस्ता दृश्यहरू हामीले दुःख मानेर हेर्नु परिरहेको छ। एकदिन कोही पनि लाहुर जान नपरोस् है’, गायक गुरुङले भने।

तस्विर : बाह्रखरी

यसको प्रतिउत्तरमा दर्शकहरूले पनि समर्थन जनाएका थिए। कार्यक्रम अवधिभर गायक गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए। घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरूको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीन हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूको तस्बिरहरू देखाइएको थियो।

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरूलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरू कुनै छैन,’ सरकारी विद्यालयहरूकै निम्ति यसअघि सुर्खेतमा प्रस्तुत उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छेअनुसारको दान गर्न आजैबाट सुरु गर्नुस्।’

यस्तै कन्सर्टमा ‘गाउँ गाउँबाट उठ’ गीत गाइरहँदा सुर्खेती दर्शकले पनि गाएरै साथ दिइरहेका थिए। त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक गुरुङले भने, ‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ। तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ। हामीले गाउँ गाउँमा अस्पताल पुर्‍याउनका निम्ति जोडिनै पर्छ।’

तस्बिरहरू : दिपित राज र नेपालय

कार्यक्रमको अन्त्यमा नेपथ्यको सर्वकालीन हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

कन्सर्टबाट उठेको रकमले सुर्खेतमा मानवसेवा आश्रमको आफ्नै भवन निर्माणमा लगानी गरिने योजना छ। हाल सुर्खेतस्थित आश्रमको संरक्षणमा घरपरिवार गुमाएका ४२ पुरुष, २९ महिला र ४ जना केटाकेटी गरेर ७५ जनाले सेवा प्राप्त गरिरहेका छन्।

वीरेन्द्रनगर सुर्खेतको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली बिहीबार बुटवलतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा नेपथ्य पुस ९ गते शनिबार प्रस्तुत हुँदैछ। उकेराबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array