सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न माग, प्रतिकुल मौसम र राति पनि उडान सकिने

होस्ट खबर ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान भएमा प्रतिकुल मौसममा पनि उडान भर्न सजिलो हुने बताएको छ ।

उक्त एयरलाइन्सका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार सुर्खेत विमानस्थल अहिले भिएफआर प्रविधिमा सञ्चालन भइरहेको छ । यो प्रविधिमा मौसम प्रतिकुल हुँदा वा ढिलो हुँदा उडान रद्द हुने सम्भावना प्रवल रहन्छ । तसर्थ अन्य केही विमानस्थलमा जस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा हवाई कम्पनीहरुलाई उडान भर्न सजिलो हुनेछ ।

आईएफआर प्रविधिमा कम भिजिविलिटीमा पनि उडान भर्न सकिने उनले बताए । यस प्रविधि जडान भएमा साँझ र रातीमा पनि उडान भर्न मिल्ने बताउँदै कर्णले यसबाट यात्रुलाई आफ्नो अनुकुल समयमा आउजाउ गर्न पनि सहज हुने बताए ।

आईएफआर प्रविधि र सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई वायुसेवा सञ्चालकहरुले पनि आग्रह गरेको र प्राधिकरणले यसलाई सकारात्मकरुपमा लिएको कर्णको भनाई छ ।

हालै मात्रै एटीआर–४२ जहाजबाट सुर्खेतमा उडान सेवा दिन थालेको बुद्ध एयरले यसअघि सानो जहाजबाट मात्रै सो गन्तव्यमा उडान भर्दै आएको थियो । अब उसले डिसेम्बर १६ बाट एटीआर–७२ जहाजमार्फत समेत उडान सुरु गर्ने र डिसेम्बर २१ बाट सोही जहाजमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने बताइसकेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array